नागरिकता विधेयक पारित हुन्छ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले नागरिकता विधेयक पुनः प्रक्रियामा गएको छ, अब पारित हुन्छ ।

अध्यक्ष दाहालले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक प्रक्रियामा गइसकेको छ, त्यो पारित हुन्छ र राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ ।”

अध्यक्ष दाहालले यतिखेर देशमा राजनीतिक सङ्कट आउने जस्तो गरेर हल्ला गरिएको भन्दै तर बाहिर हल्ला भएजस्तो मुलुकमा सङ्कट नआउने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “बाहिर त केके सङ्कट आउने जस्तो हल्ला गरिएको छ, तर त्यस्तो केही होइन, हुँदैन ।”

आगामी निर्वाचनका लागि पाँच दलभित्र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन हुने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले १५ दिनभित्र सिटको बाँडफाँट भइसक्ने जानकारी दिनुभयो ।

Share your love