धनुषा : प्रभु यादवको हत्या आराेपमा दुई जना पक्राउ

धनुषाको मिथिला बिहारी नगरपालिका-४ कजरा रमौलका ५३ वर्षीय प्रभु यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कजरा रमौलका ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । बिहीवार राति दुई पक्षीय विवाद भएपछि प्रभु यादवको हत्या भएको थियो ।

बिहीवार राति स्थानीय सुरज यादवसहितकाे समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको ज्यान गएकाे प्रभुका छोरा अशोकले बताउनुभयाे । घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरेका उहाँले बताउनुभयाे ।

झन्डै दुई महिनाअघि सुरजकाे बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरूको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । बिहीवार रातिको आक्रमण त्यही घटनासँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी, जेठा छोरा जगरनाथ, माहिला छोरा सन्तोष र कान्छा छाेरा आशोक घाइते भएका छन् । सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने अन्य सामान्य घाइते छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

घटनामा संलग्न अन्य फरार रहेका र उनीहरुकाे खाेजी भइरहेकाे प्रहरी नायब उपरीक्षक रायले बताउनुभयाे । पक्राउ परेका दुवै जना मुख्य आराेपित सुरजका छिमेकी रहेका बताइएको छ ।

यस्तै, ब्रह्मदेव यादव, शिव यादव, सञ्जीव यादव, रोहन यादव लगायत अन्य व्यक्ति पनि घटनामा स‌ंलग्न रहेका प्रहरीले जनाएकाे छ ।

 

Share your love