धनुषा जीप दुर्घटना अपडेट : ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुल्याे

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुलेकाे छ ।

दुर्घटनामा मुखियापट्टी मुसहरिनियाँ तुल्सियाहीकी ३५ वर्षीया रुवि साह, महोत्तरी पीपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा जीप चालक धनुषाका धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुरकाे ज्यान गएकाे हाे ।

आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बाेकेर इँटहरीबाट फर्किँदै गरेकाे बा १ ज ८२९६ नम्बरको जीपलाई माछा बाेकेकाे ज १ च १४९६ नम्बरकाे जीपले ठक्कर दिएकाे हाे । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुकाे  प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेकाे छ । घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले ठक्कर दिने जीप र जीपका चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको जानकारी दिनुभयाे ।

 

Share your love