देउवा पक्षले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले खबरदारी सभा गर्ने

नेपाली कांग्रेसका संस्थापनइतर नेताहरूले शनिबार भेला बोलाएका छन्। सभापति शेरबहादुर देउवा पक्षले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दा ‘एकलौटी’ गरेको आरोप लगाउँदै त्यसको विरोधमा शेखर कोइरालानिकट नेताहरू भेलामा जुट्न लागेका हुन्।

नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले शनिबार दिउँसो १ बजे काठमाडौंमा भेला बोलाइएको जानकारी दिए।

कोइरालानिकट पूर्वजिल्ला सभापति, केही जिल्ला सभापति, केन्द्रीय सदस्य र केन्द्रीय सदस्य उम्मेदवारहरूले शुक्रबार स्वयम्भूमा बैठक गरेका थिए। उक्त बैठकले शनिबार भेला गर्ने र सभापति देउवापक्षको एकलौटीपनको विरोध गर्ने निर्णय गरेको थियो।

भेला थापागाउँस्थित बानेश्वर बैक्वटमा हुनेछ। कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्नेबारे भने छलफल गरिसकेको छैन। सत्ता गठबन्धनसँग मिलेर कांग्रेस मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो। कांग्रेसले प्रत्यक्षतर्फ कति सिटमा उम्मेदवारी दिने भन्ने पनि टुंगो लागेको छैन।

 

Share your love