दुध बोक्ने मिनिट्रक दुर्घटनाः एक जनाको मृत्यु, ७ घाइते

गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनिट्रक अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको मिनिट्रकले बा ८६ प १७८६ नम्बरको मोटरसाइकल र पैदलयात्रुलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।

मिनिट्रकमा कति यात्रु सवार थिए र कति पैदलयात्रु दुर्घटनामा परे भन्ने नखुलेको उनले बताए। दुर्घटनास्थलबाट ८ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गोरखा पुर्‍याइएकोमा एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको लामिछानेले जानकारी दिए। घाइते ५ पुरुष र २ महिलाको उपचार भइरहेको छ।

Share your love