दाङमा बीमाकाे लाेभले टिपरमा आगजनी गरेकाे आशङ्कामा चालक र सह-चालक पक्राउ

दाङमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले चालक र सह-चालकलाई नियन्त्रणमा लिएको छ ।

आज बिहान बन्दकाे माैका छाेपेर बीमाकाे लाेभमा टिपरमा आगजनी गरेकाे आशङ्कामा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा चालक राप्ती गाउँपालिका सिसहनियाका अरूण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् ।

आज बिहान बबई खोलाको पुल नजिक रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियाे । बन्द कर्ताहरुले आफूहरुको बन्द कार्यक्रम बिहान पाँच बजेपछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरुको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुई दिनदेखि  त्यही ठाउँमा टिपर बिग्रिएर रोकी राखेकाे स्थानीयले बताएका जिल्ला प्रहरी प्रमुख  सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

टिपरमा आगजनी भएपछि चालक सहचालकले प्रहरीलाई  फोन नगरेको र अर्कै चालकले आगो लागेको देखेर प्रहरीलाई फोन गरेपछि घटनाबारे अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।

चालक र सहचालक पनि टिपर भएको ठाउँमा रहेको र उनीहरुको मोबाइल पनि साथमै भएकाले टिपरमा आगजनी हुँदा पनि प्रहरीलाई जानकारी नगराएपछि घटना थप रहस्यमय बनेको प्रहरीको भनाइ छ।

बीमा रकमको लोभमा परि बन्दको मौका छोपेर चालक र सहचालकले आफैँले चलाउँदै आएको टिपरमा आगो लगाएको हुनसक्ने प्रहरीको भनाइ छ।

Share your love