थ्री नेसन्स कप चैत ८ गतेदेखि, उद्घाटन खेलमा नेपाल र लाओस खेल्ने

नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेदेखि काठमाण्डाैमा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमवार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो । प्रतियाेगिता त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आयोजना हुनेछ । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिङ्गल राउन्ड रोबिनको आधारमा हुनेछ । जसअन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल चैत १७ गते हुनेछ ।

घरेलु टोली नेपालले लाओससँग चैत ८ गते खेल्दा प्रतियोगिताको उद्घाटन हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस खेल्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आरम्भ गर्नेछ ।

प्रतियोगितामा एन्फाले साधारण र भीआईपी प्यारापिटतर्फ दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ पाँच सय र भीभीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर राखिएको एन्फाले जनाएको छ । यसअघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कीर्गिस्तानको यू–२३ टोलीसहित नेपालले बङ्गलादेशसँग त्रिदेशीय प्रतियोगिता खेलेको थियो । त्याे प्रतियोगितामा नेपालले फाइनलमा बङ्गलादेशलाई हराउँदै च्याम्पियन बनेको थियो ।

 

Share your love