तेस्रो तथा निर्णायक एक दिवसीयमा नेपालको उत्कृष्ट बलिङ

नेपालले तेस्रो तथा निर्णायक एक दिवसीयमा उत्कृष्ट बलिङ गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

नेपालले जितका लागि १ सय ७७ रनको लक्ष्य पाएको छ । यूएईका आयान खानले सर्वाधिक ५४ रनको अर्धशतक बनाए । त्यस्तै अलिशान शराफुले ३३ रन र रोहन मुस्तफाले २४ रन बनाए । नेपालमा गुलशन झा, कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए ।

त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृङ्खलामा एक/एक को बराबरी गरेको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो ।

यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो ।

गएको चैतमा पपुवा न्युगिनी (पीएनजी) सँगको दुई खेलमा नेपाल पराजित भएको थियो । आजको खेल जितेमा नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जित्नेछ ।

Share your love