तीन महिनामा सरकारको आम्दानी २ खर्ब ३२ अर्ब, खर्च भने २ खर्ब ७८ अर्ब रुपैयाँ

सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ३२ अर्ब रुपैयाँ आम्दानी र दुई खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको छ । तीन महिनामा जम्मा पाँच प्रतिशत विकास खर्च भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत बजेट अर्थात् विकास बजेट विनियोजन गरेकोमा साउन, भदौ र असोजमा जम्मा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँमात्रै खर्च गरेको छ । यो वर्ष साउनभित्रै कार्यविधि बनाउने, नियमावली संशोधन गर्नेलगायतका कानुनी प्रक्रिया पूरा गरेर समयमै बजेट खर्च गर्ने दाबी गरे पनि पुरानै प्रवृत्ति दोहोरिएको छ ।

तर चालु खर्च भने लक्ष्यअनुसार नै भइरहेको छ । ११ खर्ब ८३ अर्ब रुपैयाँको चालु बजेटमध्ये तीन महिनामा दुई खर्ब २३ अर्ब रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब रुपैयाँ विनियोजन भएकोमा तीन महिनामा ३४ अर्ब ७३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । समग्रमा तीन महिनामा दुई खर्ब ७८ अर्ब १६ करोड अर्थात् १५ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको छ ।

यस्तै सरकारले यो वर्ष १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य राखेकोमा तीन महिनामा दुई खर्ब आठ अर्ब ५८ करोड रुपैयाँ उठाएको छ । यो कुल लक्ष्यको १४ दशमलव ८७ प्रतिशत हो । असुल भएकोमध्ये कर राजस्वबाट एक खर्ब ८९ अर्ब ३८ करोड र गैर–कर राजस्वबाट १९ अर्ब २० करोड रुपैयाँ सङ्कलन गरेको छ ।

यस्तै ५५ अर्ब ४५ करोड रुपैयाँको अनुदानको लक्ष्य लिइएकोमा तीन महिनामा ७९ करोड रुपैयाँ प्राप्त भएको छ । यो अवधिमा अन्य आम्दानीबाट २२ अर्ब ७४ करोड रुपैयाँ आम्दानी भएको छ ।

 

अन्तिम अपडेट: कात्तिक १, २०७९

Share your love