डेङ्गीको डर : पाँच जिल्लामा छैन, १० जिल्लामा धेरै !

काठमाण्डाै – पाँच ओटा जिल्ला (ताप्लेजुङ्ग, रसुवा, नुवाकोट, मुस्ताङ्ग र हुम्ला)बाहेक देशैभर डेङ्गी फैलिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार देशका ७७ मध्ये ७२ जिल्लामा डेङ्गी सङक्रमित फेला परेका छन् ।

प्रदेशगत रुपमा प्रदेश एकका १४ मध्ये ताप्लेजुङ्गबाहेक अरु १३ जिल्लामा, वाग्मतीका १३ जिल्लामध्ये रसुवा र नुवाकोटबाहेक अरु ११ जिल्लामा, गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक १० जिल्लामा र कर्णालीका १० मध्ये हुम्लाबाहेक ९ वटा जिल्लामा सङक्रमित भेटिएका छन् । मधेस प्रदेशका आठ वटै जिल्ला, लुम्बिनीका १२ वटै जिल्ला र सुदूरपश्चिमका ९ वटै जिल्लामा डेङ्गीका बिरामी फेला परेका महाशाखाको विवरण छ ।

७२ जिल्लामध्ये सङक्रमित धेरै भएका १० वटा जिल्लामा क्रमशः ललितपुर, काठमाण्डौ, रुपन्देही, भक्तपुर, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची रहेका छन् । नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गीको सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो । त्यसपछि सन् २००६ यता बर्सेनि सङक्रमण देखिने गरेको छ । यसवर्ष गएको पुसयता अहिलेसम्म ३ हजार २ सय २७ जनामा डेङ्गी पुष्टि भएको छ । अहिले सङ्क्रमण दैनिक रुपमा बढ्न थालेको र अबका दुई महिना असोज र कात्तिकसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो ।

अहिले डेङ्गी नदेखिएका ५ जिल्लामा पनि सङ्क्रमित हुन सक्ने तर गम्भीर अवस्थामा अस्पताल पुग्नु पर्ने अवस्था नरहेको हुँदा तथ्याङकमा नसमेटिएको हुनसक्ने उहाँको भनाइ छ । डेङ्गी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र यो रोग सर्छ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्छ र यसको वृद्धि विकास हुन्छ ।

Share your love