डेंगु नियन्त्रणमा गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघको ज्ञापन

नेपाल विद्यार्थी संघले डेंगु नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ ।

शनिबार मन्त्री निवासमा पुगेर नेविसंघको टोलीले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए ।

उनीहरुले पारासिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, डेंगु रोगको निशुल्क उपचार गर्न, डेंगु परीक्षणको किट अभाव हुन नदिन र परीक्षण निशुल्क गर्न माग गरेका छन् ।

नेविसंघले डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग पनि राखेको छ । ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामको लागि सरकार लागिरहेको बताए । उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए । उनले डेंगु प्रकोप घोषणा गर्नुपर्ने तहमा नपुगेको पनि दावी गरे ।

नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले डेंगुको महामारी बढिरहेको समयमा सरकारले जनतालाई सरकार छ भन्ने अनुभुति दिलाउन नसकेको बताए ।

Share your love