‘डाक्टरी’ छोडेर राजनीतिमा आशाको किरण बन्दै डा. मधु

डा. मधु गुप्ता कुर्मी मुटु रोगसम्बन्धी मधेस प्रदेशमै पहिलो महिला विशेषज्ञ हुन् । उनी पर्सा जिल्लालाई आधार बनाएर उपचार सेवामा संलग्न हुँदै आएकी थिइन् । बिरामी जाँच्ने, स्वास्थ्यसम्बन्धी उपचार र सल्लाह दिने, अस्पताल भिजिट गर्ने उनको सामान्य दैनिकी थियो । त्यस अलावा उनी ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविरहरु लिएर स्थानीयको उपचारका लागि पनि जाने गरेकी थिइन् ।

अहिले पनि उनी पर्साका बासिन्दाको घरघरमा पुगेकी छन् । तर डाक्टर बनेर होइन, चुनावी उम्मेदवार बनेर । पछिल्लो समय उनको दैनिकी फेरिएको छ । पर्सा क्षेत्र नंबर ३ (ख) मा जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको साझा उम्मेदवारको बनेपछि उनको भूमिका बदलिएको छ ।

सक्रिय राजनीतिमा आउनुअघि बिरामीको स्वास्थ्य समस्यामात्र जाँच्ने डाक्टरको भूमिकाबाट उनी अहिले स्थानीयको समग्र समस्या बुझ्ने र त्यसलाई समाधानको बाटोमा लिएर जाने प्रतिबद्धता व्यक्त गर्दै हिँडेकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्यकी प्रत्यासी डा. गुप्ता राजनीतिमा अग्रजको अनुभव र युवा पिढीको ज्ञानको संयोजन हुनुपर्ने बताउँछिन् । पर्सा जिल्लाको आर्थिक र सामाजिक जीवन अति पिछडिएको छ । यो जिल्लालाई विकास र अवसरमा अघि बढाउन राजनीतिमा आएकी हुँ, उनले भनिन् ।

चिकित्सा क्षेत्रबाट स्वास्थ्य समस्याको उपचार गरेरमात्र पुगेन । आर्थिक, सामाजिक र राजनीतिक समस्याको उचारको लागि त राजनीतिमै आउनुपर्ने भयो । नीति निर्माणको तहमा पुगेर समाजलाई समुन्नत बनाउने उद्देश्य राखेकी छु । मतदाताले मलाई त्यो ठाउँमा पठाउनेमा पूर्ण विश्वस्त छु, डा गुप्ताको भनाइ छ । राजनीतिको मधुको सक्रियतालाई पर्साका बासिन्दाले आशाको किरणको रुपमा हेरेको स्थानीयले बताएका छन् ।

Share your love