ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु चुनावी सरगर्मी बढेको छ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी बढेको हो ।

चुनावका लागि विद्यार्थी नेताहरूले पूर्वतयारी भइसकेको बताएका छन् । २०६४ साल अर्थात् १५ वर्षपछि ठाराब क्याम्पसमा विद्यार्थी युनियनको चुनाव भइरहेकोमा विद्यार्थीहरूमा खुशी छाएको छ ।

त्रिभुवन विश्वविद्यालय मातहतको उक्त क्याम्पसमा त्रिविको विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले गत पुस २२ गते पत्राचार गरी आगामी फागुन २७ गते उम्मेदवारी दर्ता र चैत ५ गते चुनाव गराउन क्याम्पस प्रशासनलाई पत्र पठाएपछि विद्यार्थी नेताहरू तयारीमा जुटेका हुन् ।

यसपालिको चुनावमा २०५१ फागुन २७ पछि जन्ममिति भएका विद्यार्थीहरूले उम्मेदवार हुन पाउनेछन् । उम्मेदवारको लागि २८ वर्षमुनि उमेरको हदम्याद छ भने मतदाताको लागि क्याम्पसमा भर्ना हुनुपर्ने व्यवस्था छ । यसपालिको चुनावमा नेपाली काङ्ग्रेसनिकट नेविसङ्घ, एमालेनिकट अनेरास्ववियु, माओवादीनिकट अखिल क्रान्तिकारी, जसपानिकट समाजवादी विद्यार्थी युनियन, लोसपानिकट लोकतान्त्रिक विद्यार्थी सङ्घ, जनमत पार्टीनिकट विद्यार्थी जनमत सङ्घलगायत राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीसमेतको उम्मेदवार उठ्ने चर्चा छ ।

त्रिविको स्ववियु निर्वाचन विधान अनुसार दुई हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा प्रत्यक्षतर्फ सभापति, सचिव, कोषाध्यक्ष र आठजना सदस्य गरी ११ जना सदस्यको चुनाव हुन्छ भने दशजना कार्यसमिति समानुपातिकतर्फ मनोनीत हुन्छन् । त्यसैगरी, त्रिविको अर्को आङ्गिक क्याम्पस वीरगंज नर्सिङ क्याम्पसमा पनि स्ववियु निर्वाचनको चहलपहल शुरू भएको छ ।

आजको प्रतीक दैनिक बाट