झापाको सुकेडाँगीमा बायोग्यास प्लान्ट निर्माणको काम अन्तिम चरणमा

झापाको कन्काई नगरपालिका–१ सुकेडाँगीमा निर्माण भैरहेको बायोग्यास प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।बायोग्यास प्लान्ट निर्माणको काम ९० प्रतिशत सकिएको र आउँदो मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भैरहेको कन्काई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण जडानको काम भने बाँकी छ ।

कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो । कन्काई–१ सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी प्लान्ट स्थापना गरिएको छ । जसबाट दैनिक ४० टन फोहर व्यवस्थापन हुनुका साथै जैविक मल, तापीय ऊर्जा मिल्नेछ । कुहिने र नकुहिने दुवै प्रकारको फोहर व्यवस्थापन हुनेछ ।

१४ करोडको लागतमा कुहिने फोहर व्यवस्थापन गर्ने गरी काम थालिए पनि नकुहिने फोहरसमेत व्यवस्थापन गर्ने गरी अहिले २४ करोडको लागतमा काम भइरहेको छ ।

प्लान्ट सञ्चालनमा आएपछि दैनिक एक हजार किलो बायोग्यास, ३० हजार लिटर झोल र आठ टन जैविक मल उत्पादन हुने कम्पनीका प्राविधिक सल्लाहकार जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

उत्पादित बायोग्यास एलपी ग्यासको विकल्पसँगै अटोरिक्सा, तापीय ऊर्जा चाहिने औधोगिक क्षेत्र, अस्पताललगायतका प्रतिष्ठानमा प्रयोग हुनेछ ।

बिर्तामोड नगरपालिकाले नगरको फोहर व्यवस्थापनका लागि दुई करोड ५४ लाख दिने निर्णयसमेत गरेको छ । कन्काई र अर्जुनधारा नगरपालिकाले पनि आर्थिक साझेदारीका लागि प्रतिवद्धता जनाएका छन् ।

Share your love