जे लक्ष्य लिएर भारत गएको थिएँ, त्यो पूरा भएको छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ ।

नेपाल फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गर्नुभयो ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरु  पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, पार्टीका नेता लगायतका स्वागत गरेका छन् ।

विमानस्थलमै भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतसँग भएका मुख्य ७ वटा सम्झौतालाई वाचन गरेर सुनाउँदै आफ्नो भारत भ्रमण निक्कै फलदायी भएको दाबी गर्नुभयो । उहाँले आफूले जे लक्ष्य लिएर भारत गएको हो त्यो लगभग पूरा भएको दाबी गर्नुभयो ।

नेपालले भारतलाई बिजुली बेच्ने, सुक्खा बन्दरगाह, सीमा समस्याको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको र संयुक्त पत्रकार सम्मेलनमा मोदीले दिएको प्रतिक्रियाबाट आफू उत्साहित भएको प्रचण्डको भनाइ छ । आफ्नो भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको प्रचण्डले बताउनुभयो ।

 

Share your love