जीतपुरसिमराका शिक्षक द्वारा नगर प्रमुख स्तरीय निर्णय फिर्ता लिन माग

जीतपुरसिमरा उपमहानगरपालिका भित्र कार्यरत राहत तथा अस्थायी शिक्षकले बैशाख १३ गतेको नगर प्रमुख स्तरीय निर्णय फिर्ता नभए संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

सिमरामा शुक्रवार सम्पन्न शिक्षक संगठनको एकता भेलाले राहत तथा अस्थायी शिक्षकको म्याद थप गर्नुपर्ने नगर प्रमुख स्तरीय निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । भेलाले उक्त निर्णय तत्काल फिर्ता लिन नगर प्रमुख राजन पौडेलसंग माग गरेको छ ।

नगर प्रमुख स्तरीय उक्त निर्णयमा उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी, राहत, बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीको एक वर्षको करार म्याद विद्यालय व्यवस्थापन समितिको बैठकबाट थप गर्नुपर्ने र उक्त म्याद थपको पत्र बैशाख ३१ गतेसम्म कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ । तर राहत तथा अस्थायी शिक्षक भने नगर प्रमुख स्तरीय उक्त निर्णयमा सन्तुष्ट छैनन् ।

बैशाख १३ गते नगर प्रमुख स्तरीय निर्णय भएको उल्लखे गर्दै सामुदायिक विद्यालयलाई सम्बोधन गरेर उपमहानगरपालिको शिक्षा महाशाखाबाट पत्र जारी भएपछि शिक्षकहरु असन्तुष्ट रहदै आएका छन् । शिक्षकको म्याद थप गर्नुपर्ने बिषय ऐन विपरित रहेको भन्दै शिक्षकहरुले नगर प्रमुख पौडेललाई भेटेर उक्त निर्णय सच्याउन समेत माग गरिसकेका छन् । तर नगर प्रमुख पौडेल भने उक्त निर्णय सच्याउन तयार देखिदैनन् ।
नगर प्रमुखले शिक्षा ऐन विपरित उक्त निर्णय गरेको शिक्षक संगठनको दावी छ । राहत शिक्षक संघर्ष समितिका केन्द्रीय सहसंयोजक विनोद पासवानले यस्तो निर्णयविरुद्ध सबै शिक्षकले आन्दोलन गर्नुपर्ने बताए । लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहेका शिक्षकको योगदानलाई बिर्सिएर उपमहानगरपालिकाले यस्तो निर्णय गर्न नमिल्ने पासवानको भनाई थियो ।

विद्यालय व्यवस्थापन समितिबाट प्रत्येक वर्ष करार म्याद थप गर्नुपर्ने निर्णयले समग्र शिक्षामा राजनीतिक हस्तक्षेप हुने शिक्षक संगठनको तर्क छ । राजनीतिक दलका प्रतिनिधिको उपस्थिती रहने विद्यालय व्यवस्थापन समितिले शिक्षकको करार म्याद थप गर्दा राजनीतिकरण गर्न सक्ने उनिहरुको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिले राजनीतिक प्रतिशोध साध्ने र पूर्वाग्रही ढंगले निर्णय गरेमा लामो समय शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकमाथी अन्याय हुन सक्नेतर्फ सचेत रहन जरुरी रहेको शिक्षक संगठनका अगुवाले बताएका छन् ।

भेलामा नेपाल शिक्षक महासंघ जीतपुरसिमराका अध्यक्ष शंकर आचार्यले उपमहानगरपालिकाको निर्णयविरुद्ध संघर्षमा उत्रनुपर्ने बताएका छन् । नगर प्रमुख स्तरीय निर्णय भन्दै शिक्षकमाथी गरिएको आक्रमणविरुद्ध लड्नुपर्ने र त्यसका लागि सबै शिक्षक संगठनले एकताबद्ध भएर आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने बताए । आचार्यले बैशाख १३ गते भएको उक्त नगर प्रमुख स्तरीय निर्णय सच्याउन आन्दोलनमा आफ्नो साथ र समर्थन रहने प्रतिबद्धता समेत जनाए ।

भेलाले उक्त निर्णय सच्याउनका लागि दवाव दिने उदेश्यले बरुण गौतमको संयोजकत्वमा गठित १० सदस्यीय सघर्ष समितिलाई परिचालन गर्ने निर्णय गरेको छ । उक्त समितिमार्फत संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।

गौतमको अध्यक्षतामा सम्पन्न बैठककमा विभिन्न शिक्षक संगठनका नेतासहित उपमहानगरपालिका भित्र कार्यरत अस्थायी, राहत, बालबिकास सहजकर्ता र कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण धनप्रसाद बजगाईंले गरेका थिए । उपमहानगरपालिका भित्र पाँच सय भन्दा बढी अस्थायी शिक्षक कार्यरत छन् ।

Share your love