जाजरकोटमा औषधि अभाव : विद्युत् अवरुद्ध हुँदा शल्यक्रियालगायतका सेवा ठप्प

जाजरकोटमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा सेवा लिन पुग्ने बिरामीले औषधि नपाएको गुनासो गरेका छन् । डाक्टरले जाँच गरेपछि औषधिको नाम लेखेर ‘फार्मेसी’ मा जान सल्लाह दिने गरे पनि औषधि नपाएको बिरामीको गुनासो छ ।

सरकारी अस्पतालका फार्मेसीमा औषधि नहुँदा निजी क्लिनिङमा किन्न बाध्य भएको भेरी नगरपालिका–१ की तली कामीले बताउनुभयो । सामान्य ग्यास्ट्रिकको औषधिसमेत नपाएको उहाँले गुनासो गर्नुभयो । त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताउनुभयो ।

सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन पुगेका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धित निकायलाई गराए पनि औषधि जिल्लामा नआएको गुनासो गरेका छन् ।  यस्तै, जिल्ला अस्पतालमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या हुँदै आएको छ ।

ओपीडी, शल्यक्रिया, एक्सरे सेवादेखि ल्याबसम्मका सबै सेवा विद्युत् नहुँदा ठप्प भएका छन् । जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महँगो पर्ने भएकाले दैनिक अस्पतालमा काम गर्न मुस्किल भएको हो । विद्युत् प्राधिकरणले ट्रान्सर्फमर जडान गरे पनि वाइरिङ नगर्दा समस्या भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख अविशेकराज कलुवारले बताउनुभयो ।

Share your love