जबराविरुद्धको महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् । २२ साउनमा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

तर, हालसम्म सिफारिस समितिले काम सुरु गरेको छैन । यही बेला सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक राखेर यस्तो आग्रह गरेका हुन ।

सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले महाअभियोगको सिफारिस समितिको सहजीकरण बैठक राखेका हुन । सहजीकरण बैठकमा ११ सदस्यीय छानबिन समितिका ८ जना उपस्थित थिए । संघीय संसद सचिवालयका महासचिव र सचिव लगायतको पनि उपस्थिति थियो ।

महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । सहजीकरण बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले महाअभियोगबारे प्राप्त जिम्मेवारी छिट्टै सम्पन्न गर्न आग्रह गरेका हुन् ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह छन् ।

संसद सचिवालयको रेकर्डका अनुसार रामबहादुर विष्ट यो समितिका जेष्ठ सदस्य हुन् । उनकै नेतृत्वमा पहिलो बैठक बस्नेछ । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि तय गर्ने, संयोजक तोक्ने लगायतका कार्य गर्ने समितिका सचिव गौत्तमले बताए । तर, पहिलो बैठक बस्ने मिति तय भएको छैन ।

Share your love