जबरजस्ती करणीमा जेल परेका चौधरीले गरे कारागारभित्र महिला बन्दीलाई जबरजस्ती करणी

दाङको तुलसीपुर कारागारभित्र एक महिला बन्दीमाथि जबरजस्ती करणी भएको छ । गत कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले ती महिला बन्दीमाथि जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटना गत कात्तिकमा भएको भएपनि अहिले आएर सार्वजनिक भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कार्तिक १७ गते दिउँसो करिब सवा २ बजेतिर घटना भएको हो । घटना घटेको दिन नै पीडितले इलाका प्रहरी कार्यालय तुलसीपुरमा कारागार प्रशासनको भवन भित्रको भान्सा घरमा जबरजस्ती करणी गरेको भनी जाहेरी दर्ता गरेको र त्यही अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेर कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा पेश गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

अभियुक्त चौधरीले जबरजस्ती करणी मुद्दामा नै कैद भुक्तान गरिरहेका छन् महिला ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी छन् । उहाँका अनुसार चौधरीले पहिला पनि जबरजस्ती करणीको कैद भुक्तानी गर्दै आएका छन् । फेरि कारागार भित्र कैदीलाई जबरजस्ती करणी गरेको घटनाले अब ७ देखि १० वर्षसम्म कैद सजाए हुन सक्छ ।

यस्तै, गत पुस १६ गते आरोपित, पीडित लगायत साक्षीहरूको बकपत्र भइसकेको पनि प्रहरी निरीक्षक केसीको भनाइ छ । अहिले पीडित तुलसीपुर कारागारमा रहेको र पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको पनि उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक केसीका अनुसार पीडित महिला कैदीबन्दीको तर्फबाट कारागारमा चौकीदारको रुपमा थिइन्, भने पीडक पनि पुरुष कैदीबन्दीको तर्फबाट चौकीदार रहेका थिए । उहाँले भन्नुभयो, ‘दुबै जना चौकीदार हुँदा कारागारभित्र कामकाज गर्नको लागि बाहिरभित्र गर्न सहज हुन्छ । पीडितले भान्सामा पानी तताउन लागेको अवस्थामा पीडक भान्सामा पसेर ढोकाको चुकुल लगाएर मुख थुनेर जबरजस्ती करणी गरेको भन्ने जाहेरीमा उल्लेख छ ।’

आरोपी चौधरीले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।

Share your love