जनतालाई अलमलबाट मुक्त गरेर एमालेकाे पक्षमा आउने वातावरण बनाउनुस् : अध्यक्ष ओली

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो सङ्घीय र प्रदेश सभा चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा सुरुमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदो चुनावमा जनमत एमालको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले नागरिक अलमलमा पर्न सक्ने भन्दै उनीहरूलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता कार्यकर्ताको काँधमा रहेको बताउनुभयो । उहाँले जनमत एमालेको पक्षमा पार्ने र त्यो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरू अवलम्बन गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढङ्गले दुष्प्रभावित गर्लान् कि भनेर त्यसका निम्ति ध्यान दिने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ ।’

अध्यक्ष ओलीले चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भूमिका खेल्न पनि आग्रह गर्नुभयो । निष्पक्ष चुनाव गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने उहाँको भनाइ थियो ।

केन्द्रीय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले शपथ ग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् । त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरूका प्रतिवेदन पेस गर्नेलगायतका कार्यसूची रहेको एमालेले जनाएको छ ।

Share your love