जनकपुरमा जग्गाको वर्गीकरणकाे काम सकियो

जनकपुरधाम उपमहानगरपालिकाले जग्गा वर्गीकरणको काम टुंग्याएको छ ।

वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा राखिएको हाे । जग्गाकाे वर्गीकरण भएसँगै रोकिएको कित्ताकाट मालपोत र नापी कार्यालयबाट फुकुवा हुने भएकाे छ । जनकपुर उद्योग वाणिज्य संघ लगायतले भूमि वर्गीकरण सम्बन्धी निर्णय गर्न उपमहानगरपालिकासँग माग गर्दै आएका थिए ।

उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जग्गा वर्गीकरणको निर्णय भइसकेको जानकारी दिनुभयो । सरकारले निर्धारण गरेको बसोबास क्षेत्रको ८ धुर जग्गा कित्ताकाट यथावत र कृषि क्षेत्रको जग्गा दुई कट्ठा भन्दा कम्तिको कित्ताकाट नहुने उहाँले बताउनुभयाे। वडा नम्बर १५ देखि २५ सम्मको जग्गामा कृषि र गैरकृषि क्षेत्र विभाजन गरिएको उहाँले बताउनुभयो ।

जग्गा धनीले आफ्नो जमिन कृषि योग्य क्षेत्रमा राख्न चाहे उपमहानगरपालिकामा निवेदन दिन सकिने नगरप्रमुख साहको भनाइ छ । जग्गाको वर्गीकरण भए पनि करमा भने वृद्धि गरिएको छैन् । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिनुका साथै जग्गाको बेचबिखन समेत रोकिएको थियो ।

Share your love