छाडा कुकुरको संख्या कम गर्न स्थायी बन्ध्याकरण

सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ । सन्धिखर्क नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेपछि स्थायी बन्ध्याकरण सुरु गरेको हो ।

बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीहरुलाई कुकुरले टोक्ने तथा लखेट्ने गर्दा विद्यार्थीहरुमा पनि त्रास छाएको थियो । यस्तै रातिको समयमा पनि कुकुरहरुले हल्ला गर्ने गरेपछि नियन्त्रणका लागि स्थायी बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो।

यस्तै छाडा कुकुरहरुले पशु चौपायालाई पनि हमाला गर्ने गरेका थिए । यस शिविरमा नगर भित्र रहेका १ सय २० कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा, सिद्धार्थ नगर रुपन्देहीको आयोजनामा पशु चिकित्सकको टोलीले कुकुरहरुको स्थायी बन्ध्याकरण गरिरहेको छ । आज शनिबारदेखि शुरु भएको बन्ध्याकरण तथा रेबिज खोप लगाउने शिविर ३ दिनसम्म चल्नेछ ।

Share your love