छठ पर्वको आज दोस्रो दिन खराना गरी मनाईदै

तराई मधेसमा बिशेष रुपमा मनाइने छठ पर्वको शनिबार दोस्रो दिन ब्रतालुहरु ‘खराना’ मनाउने तयारीमा छन् ।

दिनभरी ब्रत बसेर बेलुका नैवेध चढाएर सक्खर हालेर बनाइएको खीर, मुला, केरा खाने गरिन्छ, जसलाई ‘खरना’ भनिन्छ । चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको पूजा आराधना गरिन्छ ।

ब्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् । छठ पर्वको पहिलो दिनलाई ‘नहाय खाए’ भनिन्छ । पहिलो दिन ब्रतालुहरुले आफ्नो भान्सा घरलाई सफा पारी चोखो बनाउँछन् ।

नङ काटेर नुहाईधुवाई गरी चोखो खाना खाने चलन छ । ब्रतालुहरुले शुक्रबार पहिलो दिन रहरको दाल, लौकाको तरकारी, चामलको भात, दही लगायतका परिकार खाएका थिए ।भोलि आईतबार छठ घाटमा गई अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।

अत्यन्त निष्ठा एवम् पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले छठ ब्रतालुहरु महिना दिन अघिदेखि नै यसको तयारीमा व्यस्त हुन्छन् र बिभिन्न कुराहरु बार्ने गर्दछन् । शुद्धतामा बिशेष ध्यान दिएर यो पर्व मनाउने गरिन्छ ।

छठ पर्वका लागि बाँसको चोयाले बनाइएका टोकरी, सुपली, नाङ्लो, माटोबाट बनाइएका भाँडाका साथै नरिवल, मिठाई, केराउ, सुथनी, अदुवा, उखु लगायतका सामाग्रीहरु आवश्यक्ता पर्छ ।छठ पर्वमा भगवान सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारी, वयर, सिंघडा, लगायतका सामाग्रीहरु चढाउने गरिन्छ ।

यी सामाग्री माटोले बनेका नयाँ भाँडा र बाँसको टोकरीमा राखेर सूर्यलाई अर्पण गरिन्छ । छठमा विधिपूर्वक सूर्य र छठीमाईको पूजाआजा गरेमा परिवारको कल्याण, सन्तान प्राप्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सोमबार बिहान उदाउँदै गरेको सुर्यलाई अर्घ दिएपछि बिधिवत रुपमा छठ पर्व सम्पन्न हुन्छ ।

Share your love