चुन ढुङ्गा निकाल्ने बहानामा प्रकृति समाप्त भइरहेकाे छ : रामवरण यादव

काठमाण्डाै – पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुखेसो गर्नुभएको छ ।

आज शुक्रवार काठमाण्डाैमा आयोजित १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो । उहाँले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताउनुभयो । नदीनाला दोहन, तराईका जङ्गलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुङ्गा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद् बढिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले विश्वभरि क्लाइमेट इमर्जेन्सी छ । ग्लोबल वार्मिङ भएर हाम्रो हिमालको हिउँ पग्लिरहेको छ । अन्टार्कटिकाको हिउँ पग्लिरहेको छ । साइबेरियामा आगो लागिरहेको छ । वैज्ञानिकहरूले यसबारेमा चेतावनी दिइरहेका छन् । तर कुनै पनि देशका नेतृत्वकर्ताले यसमा चासो दिएका छैनन् । वैज्ञानिकहरूले २२ औँ शताब्दीमा मानव सभ्यता नै मुस्किलमा पर्ने भनिरहेको छ । प्रकृतिलाई शोषण गरेकै कारण प्राकृतिक विपद् निम्तिरहेका छन् । हाम्रै हिमालको हिउँ पग्लिरहेको छ । नदीनाला दोहन गरिरहेका छौँ । चुरे क्षेत्र समाप्त भइरहेको छ । तराईको जङ्गल समाप्त भएको छ । तर लिडरलाई मतलब छैन । चट्टान फोरेर चुनको लोभमा चुनढुङ्गा निकालेर प्रकृति समाप्त भइरहेको छ । जलवायु परिवर्तनका कारण खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढिरहेकाे छ ।’

पूर्वराष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरूको विनाशका कारण कोरोनालगायतका विभिन्न रोग आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताउनुभयो । महात्मा गान्धीको जीवनी आफैँमा एउटा पुस्तक रहेकोले सबैले गान्धीको जीवनबाट पाठ सिक्न आवश्यक भएको उहाँकाे भनाइ छ ।

 

Share your love