चुनावी परिणाम स्वीकार्य छैन, कानुनी उपचार खोज्छु : झलनाथ खनाल

एकीकृत समाजवादीबाट इलाम क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार बनेका झलनाथ खनालले आफूलाई चुनावी परिणा स्वीकार्य नभएको बताएका छन्। आइतबार सकिएको गणनामा खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका थिए। खनालले २३ हजार ८९ मत पाउँदा विजय हुने बस्नेतले २५ हजार ७५३ भोट पाएका छन्।

उनले खसेको भन्दा धेरै मत बाकसमा पाइएको भन्दै पुनःमतदानको माग गरेका गरे पनि निर्वाचन अधिकृतको कार्यालयले गणना गरेर परिणाम सार्वजनिक गरेको छ। त्यसप्रति विमती राख्दै खनालले परिणाम नमान्ने र कानुनी उपचार खोज्ने जनाएका छन्।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमालेका कार्यकर्ताले समेत आफूलाई मत दिएको भन्दै खुशी व्यक्त गरेका छन्। ‘निर्वाचनको क्रममा नेकपा (एमाले) का कैयौं नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुले समेत मलाई मतदान गर्नुभएको छ। म ती संविधान, अग्रगति र समाजवादका पक्षधर कमरेडहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु, उनले भनेका छन्।

Share your love