चुनावको मुखमा यादव–राउत मनमुटाव 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा जसपा अध्यक्ष उपेन्द्र यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतबीच मनमुटाव सुरु भएको छ । मधेस विश्वविद्यालयको उपकुलपति नियुक्तिमा पार्टी नेतृत्वको निर्देशन अवज्ञा गरेको भन्दै अध्यक्ष यादवले मुख्यमन्त्री राउतको राजीनामा नै मागेका छन् ।

अध्यक्ष यादवको छोरासमेत रहेका जसपा नेता अमरेन्द्र यादवले पार्टी लाइनविपरीत अगाडि बढेकाले मुख्यमन्त्रीको राजीनामा मागिएको बताए । ‘पछिल्लो समय मुख्यमन्त्रीले पार्टी लाइनभन्दा बाहिर गएर काम गर्नुभएको छ । भर्खरै भएको मधेस प्रदेशको विश्वविद्यालयको नियुक्तिमा पार्टीले सिफारिस गरेभन्दा अर्कै व्यक्ति नियुक्त गरिएको छ,’ अमरेन्द्रले भने ।

वीरगन्जमा स्थापनाको क्रममा रहेको मधेस विश्वविद्यालयको उपकुलपतिमा गत साता मुख्यमन्त्री राउतले प्रा.डा. दीपक शाक्यलाई नियुक्त गरेका थिए । अध्यक्ष यादवले डा.हरिशंकर साहलाई नियुक्त गर्न सिफारिस गरेका थिए । ‘पार्टी निर्देशनविपरीत काम भएपछि अध्यक्षज्यू रिसाउनुभएको हो,’ उनले भने ।

जसपाका नेता मनीष सुमनले साइकल खरिद प्रकरणमा देखिएको अनियमिततापछि विवादमा तानिएका राउतलाई पार्टीको छविमा प्रश्न उठेको भन्दै राजीनामा मागिएको बताए । ‘अध्यक्षले मुख्यमन्त्रीलाई तपाईं अब राजीनामा दिनुस् भनेर सल्लाह दिनुभएको हो,’ सुमनले भने, ‘पछिल्लो दिनका साइकल प्रकरणलगायत धेरै बेथिति शृंखलाबद्ध रूपमा बाहिरिए । आफ्नै प्रदेशमा यसले पार्टीप्रति अलोकप्रियता बढाएपछि राजीनामा मागिएको हो ।’

तर, नेता अमरेन्द्र मुख्यमन्त्रीको राजीनामा मागसँग साइकल प्रकरणको साइनो नरहेको बताउँछन् । ‘खास कारण पार्टी निर्देशनविपरीतका काम नै हुन्,’ उनले भने, ‘साइकल प्रकरणमा उहाँ फस्नुहुन्न ।’

छोरीहरूलाई विद्यालय जान प्रेरित गर्ने उद्देश्यले मधेस सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचारको आरोप लागेपछि अन्य दलहरूले मुख्यमन्त्रीको राजीनामा मागिरहेका थिए । मुख्यमन्त्रीमाथि प्रश्न उठेपछि लोसपा, जनमत पार्टीका नेताहरूले राजीनामा दिएर निष्पक्ष अनुसन्धानको बाटो खोल्नुपर्ने आवाज उठाइरहेका थिए ।

कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गत १८ साउनमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । अख्तियारले सचिव र आपूर्तिकर्तालगायत आठविरुद्ध मुद्दा दायर गरे पनि मुख्यमन्त्री र प्रमुख सचिवले उन्मुक्ति पाएका थिए । तर, अख्तियारले दोस्रो चरणमा खरिद भएका साइकलको पनि छानबिन थालेको छ ।

राउतले भने साइकल खरिदमा आफ्नै हस्ताक्षर भए पनि अनियमिततामा आफ्नो संलग्नता नभएको प्रस्टीकरण दिँदै आइरहेका छन् । ‘सबै हेर्ने जिम्मा मेरो होइन, कार्यालयबाट खटिएको व्यक्तिको हो,’ उनले भनेका छन्, ‘हस्ताक्षर मेरै हो । साइकल आएको हो, त्यो गुणस्तरीय छ–छैन, टेन्डरअनुसारको भए–नभएको हेर्ने कार्य मेरो सरोकारको विषय होइन ।’

राजनीतिक गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न जसपाको राजनीतिक समितिको बैठकमा समेत मुख्यमन्त्रीको भूमिकाबारे प्रश्न उठेको थियो । ‘बैठकमा पनि मुख्यमन्त्रीको भूमिका, विवाद र राजीनामाबारे चर्चा भएको हो, यहीबीचमा राजीनामाको माग भएको हो,’ अमरेन्द्रले भने ।

मधेसमा उपेन्द्र यादवको छवि मुस्लिम तथा अल्पसंख्यकप्रति नरम छ । मोहम्मद इस्तियाक राईलाई सांसद बनाउने, खालिद सिद्दिकीलाई राष्ट्रिय सभा पुर्‍याउने र राउतलाई मुख्यमन्त्री बनाउने कदममार्फत यादवले मधेसमा कट्टर जातिवादी राजनीतिबाट आफूलाई टाढा राखेको सन्देश दिएका छन् ।

फोरम नामक संस्था चलाइरहेका वेला यादव र राउतबीच चिनजान भएको थियो । त्यतिवेला राउत वीरगन्ज उपमहानगरपालिकाका कर्मचारी थिए । ०५२ मा उपमहानगरपालिकाको कर्मचारीका रूपमा नाम निकालेका उनी जिन्सी फाँट प्रमुख हुँदा विवादमा समेत तानिएका थिए । एकपांग्रे ठेला खरिद प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले उपमहानगरमा छापा मारेको थियो ।

त्यतिवेला मनोनीत नगर प्रमुख र बोर्डका सदस्यलाई अख्तियारले उन्मुक्ति दिएर तत्कालीन कार्यकारी अधिकृत ध्रुव कार्की, लेखापाल हरिकिशोर चौरसियासहित जिन्सी प्रमुख रहेका लालबाबु राउतलाई भने कारबाही गरेको थियो । त्यतिवेला मुद्दा खेपेको आठ वर्षपछि सर्वोच्चले उनीहरूलाई सफाइ दियो ।

भ्रष्टाचारको आरोपबाट मुक्त भएपछि पुनः उपमहानगरको जागिरमा फिर्ता भएका राउत त्यसपछि मधेसको राजनीतिमा होमिएका हुन् । उपमहानगरमा कार्यरत हुँदा भेट भएका यादवले त्यसपछि राजनीतिमा पनि राउतलाई अघि बढाएका थिए । उनी समानुपातिक सांसद पनि भए । यादवले उनलाई मधेस प्रदेशको पहिलो मुख्यमन्त्री बनाउँदा वीरगन्जमा कार्यकर्ता विरोधमा समेत उत्रिएका थिए । तैपनि यस्तो साम्प्रदायिक भावनाविरुद्ध उनी खरो उत्रिए ।

राउतलाई चुनावको मुखमा हटाउन खोज्नुलाई कतिपयले जसपाको ‘स्टन्ट’का रूपमा लिएका छन् । मधेसको मत नघटोस् भनेर यादवले यो ‘स्टेप’ चालेको अनुमान पनि छ । ‘मुख्यमन्त्री राउतमाथि उठेका बेथितिका प्रश्नलाई चुनावी एजेन्डा बनाउन दिनुहुन्न भनेर पनि राजीनामालाई सेफल्यान्डिङका रूपमा हेरिएको हुन सक्छ,’ जसपाकै एक नेता भन्छन् ।

                                                                                                                                       नयाँ पत्रिका बाट 

Share your love