चिडियाखानाको बाघ पाल्ने जिम्मा ललितपुर महानगरको

ललितपुर महानगरपालिकाले चिडियाखानामा रहेको बाघलाई आवश्यक पर्ने खाना तथा अरू व्यवस्थापनका लागि आवश्यक खर्च बेहाेर्ने भएको छ ।

चिडियाखानाको २७ औँ वार्षिकोत्सव कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानामा रहेको बाघको अभिभावकत्व ग्रहण गर्ने जानकारी दिनुभएको हो । चिडियानाले दुई वर्षअघि सुरु गरेको ‘एडप्ट एन एनिमल’ अर्थात् जनावरको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रमलाई ललितपुर महानगरपालिकाले पनि साथ दिन लागेको हो ।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिङ्गे गैँडाको अभिभावकत्व ग्रहण गरेर यो कार्यक्रम सुरुवात गर्नुभएको थियो । त्यसपछि जनावरको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रममा आकर्षण थपिएको चिडियाखानाले जनाएको छ ।

२७ औँ वार्षिकोत्सव कार्यक्रममा मेयर महर्जनले चिडियाखाना घुम्न आउने अशक्त तथा ज्येष्ठ नागरिकका लागि सुविधाजनक गाडीको व्यवस्थापन गर्ने जानकारी पनि दिनुभयो । महर्जनले चिडियाखाना सबैको आकर्षणको केन्द्रविन्दु भएकाले यसको संरक्षण र संवर्द्धनमा महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

२०५२ साल पुस १४ गते राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापनको जिम्मा लिएको अवसरमा हरेक वर्ष दिवस मनाइने गरिन्छ । छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा अहिले एक सय १४ प्रजातिका विभिन्न जीवजन्तु प्रदर्शनीमा राखिएको छ ।

 

Share your love