घर बाहिर निस्कँदा झ्याल ढोका राम्रोसँग लगाउन, बाहिर घुम्न जाँदा सपरिवारको तस्विर सामाजिक सञ्जालमा शेयर नगर्न, चाडपर्वलाई तडकभडक र भड्किलो नबनाउन, अपरिचित व्यक्तिले दिएको वस्तु नखान, रातको समयमा गहना लगाएर नहिँड्न अनुरोध गरिएको पर्चासहित प्रहरीहरु गाउँ–गाउँमा सचेतना अभियानमा सकृय भएको डिएसपी नरहरि अधिकारीले बताए।
गहनाहरु लकरमा राख्न, चोरी, डकैती, अपराधिक घटना भएको जानकारी पाए खबर गर्न, टोल सुधार समितिहरुसँग मिलेर सिसिटिभी जडानगरी समाजलाई अपराधजन्य गतिविधिबाट मुक्त बनाउन सहयोग गर्न अनुरोध गरिएको उनले बताए।
स्थानीय तह र टोल विकास संस्थाहरुसँग समन्वय गरेर सचेतना अभियान सञ्चालन गरिएको अधिकारीले बताए। जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर ६० हजार भन्दा बढी पर्चा वितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
साथै सचेतनामूलक सामग्रीसहितको अडियो जिंगलहरु तयार पारेर टोलटोलमा प्रशारण गरिएको एसपी अधिकारीले बताए। उनले सामाजिक सञ्जाल र सञ्चार माध्यमसँग सहकार्य गरेर सचेतना अभियानलाई प्रभावकारी बनाइएको बताए।
एसपी अधिकारीले जनशक्तिको भरपुर उपयोग गरि घर, बजार, सडक, सार्वजनिक यातायातका साधन सबैतिर परिचालन गर्ने बताए।
चोरी, डकैती, गुण्डागर्दी, ठगी, जुवा, तास तथा अपराधिक गतिविधि नियन्त्रण गर्न क्विक रेसपोन्स टिम परिचालन गरिएको, राजमार्ग तथा सहायक सडकहरुमा दुर्घटना हुन नदिन सवारी जाँच बढाएको, दुर्घटना भइहाले तुरुन्त उपचारका लागि अस्पताल पुर्याउने ‘अस्पताल रेस्क्यू टिम’ परिचालन गरिएको, कृतिम अभाव तथा कलोबजारी नियन्त्रण गर्न बजारमा सादा पोसाकमा प्रहरी परिचालन, जिल्लामा अबैध बस्तु भित्रिन नदिन नाका तथा चेक प्वाइन्टहरुमा जाँचमा कडाई गरिएको उनले बताए।
साथै अत्यावश्यक बस्तुको आपूर्ति सहज बनाउन, गुणस्तरहीन दैनिक उपभोग्य सामग्री विक्रीवितरण गर्न नदिन, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल बजार इलाकामा सुरक्षाकर्मी बढी परिचालन गरिएको उनले बताए।
चाडपर्वमा यातायातका साधनले मनपरी भाडा असुल्ने गुनासो आउने गरेकोले जिल्लाका चार ठाउँमा सहायता कक्ष स्थापना गर्न लागेका बताए। सार्वजनिक यातायातका साधनमा अपराधिक गतिविधि हुन नदिन राजमार्गमा चल्ने ठूला गाडीमा युनिफर्मसहितको प्रहरी राख्ने, अपराधिक गतिविधि नियन्त्रण गर्न कुकुर पनि परिचालन गर्ने बताए।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि नजिकिएकाले चाडपर्वमा शुभकामना आदानप्रदानका नाममा मतदाता प्रभावित पार्ने उद्देश्यले प्रचार प्रसार तथा चुनाव लक्षित आर्थिक गतिविधि हुन नदिन नियमितरुपमा गस्ती पेट्रोलिङको व्यवस्था गर्ने र देउँसी भैलो कार्यक्रममा राजनीतिक दलको प्रचार हुन नदिन सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।