गुप्तचरलाई निर्वाचन अनुगमनको जिम्मेवारी दिएकोमा महासंघको आपत्ति

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति महासंघले असहमति जनाएको हो ।

यस्तै आयोगले चुनाव प्रचार÷प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघको ध्यानाकर्षण भएको पनि महासंघले जनाएको छ । ‘लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने कुरामा महासंघ विश्वस्त छ । संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले तत्काल सच्याएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका  प्रचार/प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न जोडदार माग गर्दछ,’ महासंघले विज्ञप्तिमा भनेको छ ।

Share your love