गठबन्धन दश/पन्ध्र वर्षसम्म रहन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले यो गठबन्धन दश/पन्ध्र वर्ष नै कायम रहने बताउनुभएको छ । संविधान, लोकतन्त्र, विधिको शासन र राष्ट्रिय स्वाधीनताका लागि गठबन्धन कायम रहने प्रधानमन्त्री देउवाको भनाई छ । अछामको मङ्गलसेनमा भएको सत्तारुढ गठबन्धन दलको चुनावी कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो ।

अछामको चौरपाटी र मङ्गलसेनमा गरी दुई कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले दुई/दुई पटक संसद् विघटन गरी संविधान उल्लङ्घन गर्नुभएकोले यो गठबन्धन बनाउनु परेको बताउनु भयो ।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफु निरन्तर लागिरहेको भन्दै अब पश्चिम सेतीको निर्माण कार्य पूरा हुने बताउनु भयो । पश्चिम सेती, महाकाली पञ्चेश्वर, कैलाशखोला लगायतका जलविद्युत आयोजना पूरा गरी भारतलाई बिजुली बेचेर आर्थिक संवृद्धि गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका राम प्रसाद तिमिल्सैना, अछाम जिल्लाका गठबन्धनका उम्मेदवार पुष्प बहादुर शाह, अक्कल रावल, मान बहादुर रावल लगायतले आफ्ना प्रतिबद्धता राख्नुभएको थियो ।

 

Share your love