गगन थापाकाे टिप्पणी– ‘प्रधानमन्त्री प्रचण्डलाई पद जान्छ कि भन्ने डर छ’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद जान्छ कि भन्ने डर रहेको टिप्पणी गर्नुभएको छ । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डमा पनि पद जान्छ कि भन्ने डर रहेको बताउनुभएको हो ।

शुक्रवार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बाेल्दै महामन्त्री थापाले बालबालिकाहरूलाई भने डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने बताउनुभयो । बालबालिकाहरूलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उहाँको भनाइ थियो । महामन्त्री थापाले सानासाना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हुने भएकाले उनीहरूलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले बालबालिकाहरूलाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने पनि बताउनुभयो ।

 

Share your love