गएको १२ घण्टामा मकवानपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा ठूलो वर्षा

काठमाण्डाै – गएको १२ घण्टामा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, बर्दिया र पोखरामा ठूलो वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

मकवानपुरमा २० मिलिमिटर, सिन्धुपाल्चोकमा ११९ मिलिमिटर, सिन्धुलीमा ११२, बर्दियामा ९२ र पोखरामा ६७ मिलिमिटर पानी परेको छ ।

बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेको र त्यसकै प्रभावका कारण नेपाल आएको जलवाष्पयुक्त हावाको असर हिजो बेलुकादेखि परेको छ ।

यसकै कारण आज बिहानैदेखि देशका धेरै ठाउँको मौसम बदली भएको छ । आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असर भोलिसम्म नै पर्नेछ ।

आज साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Share your love