कोप-२७ भोलिदेखि : नेपालले हिमाली पर्वतीय समस्यालाई प्राथमिकताकासाथ उठाउने

कोप-२७ अर्थात् जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन भोलिदेखि सुरु हुने भएकाे छ । नेपालले सम्मेलनमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताकासाथ उठाउने भएको छ ।

सम्मेलनमा प्रस्तुत गर्नको लागि अवधारणपत्र तयार गरेको र त्यसमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका उल्लेख गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

कोप–२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ । विश्वका उस्तै समस्या भएका पर्वतीय देशहरुसँग सहकार्य रणनीति बनाउन नेपालले गएको सेप्टेम्बरमा मुस्ताङ पैरवी सम्मेलन आयोजना गरी विशेष घोषणापत्र जारी गरेको थियो ।

यस्तै, नेपालले जलवायु कोषहरूमा नेपालको सरल तथा सहज पहुँच हुनुपर्ने र नेपालले अनुकूलन, उत्थानशीलता तथा हरित विकासको अवधारणा प्रवर्द्धनमा प्रदान गरिने वित्त अनुदानको रूपमा आउनुपर्ने निश्चितताबारे पनि पैरवी गर्नेछ ।

सम्मेलन इजिप्टको शार्म एल–शेखमा भोलिदेखि मंसिर २ गतेसम्म चल्नेछ । सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने विषयमा विश्वका सबै राष्ट्रहरू ऐक्यबद्ध हुने अपेक्षा गरिएको छ ।

Share your love