कृषि औजार कारखाना सञ्चालनबारे अध्ययन गर्न महावीर पुनलाई अर्थमन्त्रीको प्रस्ताव

अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनसमक्ष प्रस्ताव गरेका छन् । पुनसँग आइतबार अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।

सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानानको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेका हुन् । उनले कारखानालाई औजार उतपादन मात्र नभई आविष्कार केन्द्रका रुपमा समेत विकास गर्ने लक्ष्य रहेको बताएका छन् ।

भेटमा उक्त कारखानाबाट नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणको उत्पादन, मर्मत सम्भार र नयाँ औजारको आविष्कार समेत गर्न सकिने बताएका छन् । कारखानालाई पुनर्जीवन दिएर उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्र बनाउने अर्थमन्त्रीको योजनामा आफ्नो समर्थन रहने उनले जानकारी गराए ।

उनले भने, ‘कृषि औजार कारखानाबाट नेपालको ग्रामिण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण र साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजार समेत निर्माण गर्न सकिन्छ ।’

अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको सुझाव अनुसार सरकारले छिट्टै यो कारखानालाई पुनर्जीवन दिने बताए । २०२१ सालमा स्थापना भएको कृषि कारखाना २०५९ सालबाट पूर्ण रुपमा बन्द भएको हो । वीरगञ्जमा ९ बिघा क्षेत्रफलमा कारखाना रहेको छ ।

Share your love