कृषिलाई उद्यम र रोजगारीको आधार बनाइने – डा मधु

पर्सा क्षेत्र नं. ३ ख बाट प्रदेशसभा सदस्यका प्रत्यासी डा. मधु गुप्ता कुर्मीले पर्सा जिल्लालाई कृषि उद्यमको केन्द्रको रुपमा विकास गरिने बताएकी छन् । पर्सा जिल्ला कृषिको सम्भवनामा अगाडि रहेर पनि अपेक्षा गरेअनुसार अवसर उपयोग हुन नसकेको भन्दै त्यसका लागि आवश्यक पूर्वाधारको नीतिगत प्रबन्ध गरिने उनले बताइन् ।

सो क्षेत्रबाट जसपा नेपाल र नेकपा एमालेको साझा उम्मेदवार रहेकी गुप्ताले चुनावीसभालाई सम्बोधन गर्ने क्रममा कृषिको आधुनिकीकरणमार्फत आयको आधार विस्तारलाई मुख्य उद्देश्य बनाइएको स्पष्ट पारिन् । खेतीका लागि मलखाद, बीउ र सिंचाईलाई प्रभावकारी बनाइने पनि उनले प्रतिवद्धता व्यक्त गरिन् ।

कृषिमा आधुनिक प्रविधिको उपयोग गरी खेतीलाई व्यावसायीकरण गरिने उनले बताइन् । निर्वाहमुखी र परम्परागत कृषिलाई उद्यममा जोड्न कृषिमा आधारित उद्यम प्रवद्र्धनलाई अघि बढाउने योजना रहेको उनले बताइन् ।

कृषकलाई परम्परागत खेतीको सट्टा बढी नाफामूलक खेतीमा प्रोत्साहित नगरी हुँदैन । ग्रामीण क्षेत्रलाई तरकारी र दूग्ध उत्पादनको केन्द्रको रुपमा विकास गरिने छ । यसका लागि अत्याधुनिक चिस्यान केन्द्र सञ्चालनमा ल्याइने छ, उनले भनिन् ।

Share your love