कांग्रेसको कोइराला पक्षद्वारा केन्द्रीय कार्यालयमै धर्ना

चुनावको टिकट वितरणमा चरम गुटबन्दी गरेको भन्दै नेपाली कांग्रेसको शेयर कोइराला पक्षले पार्टी कार्यालमै धर्ना दिएको छ । शेखर कोइराला पक्षका नेता, कार्यकर्ताले आज बुधवार केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् ।

उनीहरूले समान अवसर र न्यायको निम्ति धर्ना कार्यक्रम लेखिएको ब्यानर पनि टाँगेका छन् । आउँदाे मङ्सिर ४ गते हुने चुनावमा समानुपातिकतर्फको बन्दसूचीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुट र आफन्तको मात्रै नाम समावेश गरेको तथा प्रत्यक्षतर्फको टिकटमा पनि भेदभाव गरिरहेको भन्दै कोइराला पक्षले धर्ना दिएको हो ।

धर्नामा शेखर कोइराला, गगन थापा, धनराज गुरुङलगायतका शीर्ष नेताहरू भने उपस्थित छैनन् । शीर्ष नेता नआए पनि उहाँहरूको समर्थन रहेको नेता गुरुराज घिमिरेले बताउनुभयो । आफूहरूको आन्दोलन पार्टी  र कुनै नेताको विरुद्धमा नभइ पार्टीभित्रको अन्यायविरुद्ध भएको घिमिरेको भनाइ छ ।

Share your love