कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।

अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराउनुभएको छ ।

भण्डारीको हिजो दिउँसो छातिको फिजियो गराइएको छ । अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको अस्पताललाई उद्धृत गर्दै कँडेलले जानकारी दिनुभएको छ ।

कृत्रिम अक्सिजनलाई आज शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वास प्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टर मात्रेले बताउनुभएको छ । नेता भण्डारीले अस्ति शनिवारदेखि नलीमार्फत् खाना खान पनि सुरु गर्नुभएको छ । गएको मङ्गलवार राति ग्यास चुहावट भएर शरीरमा आगो लागेपछि नेता भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको हो ।

Share your love