करबारे अर्थ मन्त्रालयले स्पष्ट पारेपछि शेयर कारोबार चल्दै, उच्च अङ्कको वृद्धि

अर्थ मन्त्रालयले शेयर कारोबारमा लाग्ने करको विषयमा स्पष्ट पारेपछि शेयर बजारको कारोबार पुनः सुरु भएको छ ।

यसअघि लगानीकर्ताको धम्कीका कारण ब्रोकर कम्पनीले कारोबार रोक्दा बजार सञ्चालन हुन सकेको थिएन । कारोबार रोकिएपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आन्दोलनरत लगानीकर्तालाई मन्त्रालयमा बोलाएर करबारे स्पष्ट पार्नुभएको छ ।

अर्थ मन्त्रालयले निकालेको सूचनामा पुँजीगत लाभकरको विषयमा साविककै कानुनी व्यवस्था कायम रहेको उल्लेख छ । प्राकृतिक व्यक्तिको कारोबारबाट भएको लाभमा सात दशमलव पाँच प्रतिशत र पाँच प्रतिशतको कर यथावत् रहेको र थप व्यवस्था नरहेको सूचनामा उल्लेख छ ।

आन्दोलनरत लगानीकर्तासँग छलफल गर्दै अर्थमन्त्री महतले शेयरको कर सम्बन्धमा सरकार लगानीकर्ताको पक्षमा रहेको बताउनुभएको छ । सरकारले बजेटमार्फत पेसा व्यवसाय बनाएर शेयर कारोबार गर्नेहरूको आम्दानीमा कर लगाउने व्यवस्था गरेको थियो । यो व्यवस्थाविरुद्ध लगानीकर्ताले आन्दोलन थालेका थिए ।

अर्थ मन्त्रालयले करबारे स्पष्ट पारेपछि खुलेको बजार उच्च अङ्कले बढेको छ । यो समाचार तयार पार्दासम्म बजार ४३ अङ्कले बढेर एक हजार नाै सय १० विन्दुमा पुगेको छ ।

 

Share your love