एमाले प्रतिगमनको उद्देश्यबाट पछि हटेको छैन, त्यसैले रामचन्द्रलाई समर्थन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले अझै प्रतिगमनको उद्देश्यबाट पछि नहटेको भन्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै केसीले आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निर्णय गरेको बताए । ‘नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ । अहिले पनि नेकपा एमालेको नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन । विगतमा २/२ पटक संसद भङ्ग गरेर, ९/९ महिनासम्म संसदलाई चल्न नदिएर, जनताका आवाजहरुलाई संसदमा उठाउनबाट सांसदहरुलाई बञ्चित गरेको कुरा सबैको अगाडि जगजाहेर छ’ उनले भनेका छन् ।

एमालेले अझै संसद जनप्रतिनिधि संस्था नभएर प्रधानमन्त्रीको कठपुतली संस्था हो, प्रधानमन्त्रीले चाहेका बखत कुनै पनि बेला भङ्ग गर्न सकिन्छ भन्ने मान्यताबाट पछि नहटेको र राज्यका सबै प्रमुख पदहरुमा कब्जा गरेर देशमा अधिनायकवादको अभ्यास गर्न खोजिरहेको केसीले बताए ।

२५ फागुनमा हुने राष्ट्रपति चुनावमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नेता पौडेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ।

Share your love