एमाले कर्पोरेट हाउस बन्यो : पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन्। एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरको भूमिकामा रहेको दाबी गरेका हुन्।

ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उनको आरोप थियो। अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे ।

‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो। ओली कर्पोेरेट हाउसमा सिईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्, पार्टीको बागमति प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र गाउँपालिका र नगरपालिका अध्यक्षहरुको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्दै पुनले भने।

एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप उनले लगाए।

‘एमालेमा मानिसहरु बसिरहेको विचार र राजनीतिले होइन। ठूलो कार्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ । ब्राण्ड बिक्छ, कर्पोरेटमा तलब÷सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो’, पुनले भने, ‘कर्पोरेट हाउसमा कामदारहरु नाफाका लागि मिहेनत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता कार्यकर्ता त्यस्तै भएका छन्।’

तर, माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी पुनले गरे। उनले विचारलाई बोक्न सक्ने संगठन पनि आफूहरुसँग रहेको बताए।

जनयुद्धका बेला पार्टीले सेना र संयुक्त मोर्चाको नेतृत्व गरेको भन्दै उनले आजको प्रतिस्पर्धात्मक राजनीतिमा समाजवादको आधार निर्माण गर्ने पार्टी चाहिएको बताए।

Share your love