उम्मेदवार तय गर्न जसपाले तयार गर्‍यो सात बुँदे मापदण्ड

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न सात बुँदे मापदण्ड तयार गरेको छ । आज बसेको सो पार्टीको राजनीतिक समिति बैठकले सात बुँदे मापदण्ड तयार गरेको हो ।

बैठकले उम्मेदवारका लागि पार्टीको विचार नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसात गर्ने, पार्टीको समितिमा संगठित र सकृय रहेको, पार्टी र सामाजिक जन कार्यमा समर्पित हुने, स्वच्छ समाजिक छवि तथा नैतिकवान भएको व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ । निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको, सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको तथा सुशासनको प्रत्याभूत गर्न सक्नेले मात्र चुनावमा पार्टीको तर्फबाट उम्मेदवार बन्न पाउने जसपाको मापदण्डमा उल्लेख छ ।

उम्मेदवार छनौट गर्नको निम्ति सम्बन्धित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मेदवारहरूको नामावली आ–आफ्नो जिल्ला समन्वय समितिलाई भदौँ ११ गतेभित्र सिफारिस गर्नुपर्ने प्रावधान जसपाले तय गरेको छ ।

निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भइ आएका नामावलीमध्ये छलफल गरी जिल्ला समन्वय समितिले पाँच जनासम्म उम्मेदवारको नामावली प्रदेश समितिलाई भदौँ १६ गतेभित्र सिफारिस गरिसक्नुपर्ने र प्रदेश समितिले जिल्ला समन्वय समितिबाट सिफारिस भइ आएको नामावली उपर छलफल गरी तीनजना प्रस्तावित उम्मेदवारको नाम भदौ २० गतेभित्र संसदीय बोर्डमा सिफारिस गरी पठाउनुपर्ने जसपाले जनाएको छ ।

संसदीय बोर्डले प्रस्तावित भइ आएका उम्मेदवारको सम्बन्धमा आवश्यक छानविन गरी यथाशिघ्र निर्णयका लागि भदौ २५ गतेभित्र केन्द्रीय कार्यकारिणी समितिमा पठाउने र सबै तहमा उम्मेदवारको नामावली सिफारिस गर्दा महिला उम्मेदवारलाई समावेश हुनेगरी समावेशीतालाई समेत ध्यान पुर्याउन जसपाले निर्देशन दिएको छ ।

 

Share your love