उपराष्ट्रपति र उपप्रधानसहित तीनमन्त्रीमा जसपाको दाबी

जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदका लागि दाबी गरेको छ । जसपाले सरकारलाई समर्थन गरेपनि सहभागिताको विषयमा भने केही निर्णय गरेको छैन ।

 

जसपाले बुधबार रामसहाय यादवलाई संसदीय दलको नेता चुनेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन आवद्ध दलका शीर्ष नेतासँग उपराष्ट्रपति र उपप्रधानसहित तीनवटा मन्त्रालय आफूले पाउनुपर्ने दबाब दिएका छन्।

अध्यक्ष यादवले सरकारमा सहभागी हुन आफ्नो पार्टीको मागबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग औपचारिकरुपमा प्रस्ताव राखिसकेका छन् ।

संसदमा १२ सिट रहेको जसपाले मधेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान पनि राखेको छ । मधेस प्रदेशमा जसपाको १६ सिट छ । जसपाले मधेस सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबीलाई ‘बटमलाइन’ बनाएको छ ।

मधेश प्रदेशमा जनमत पार्टीले पनि मुख्यमन्त्री दाबी गर्दै आएको छ । मधेस प्रदेशसभामा जनमतको १३ सिट छ । जसपा अध्यक्ष यादव वर्तमान सत्ता गठबन्धनमा रहेर मधेसमा आफ्नो पार्टीको सरकार सुनिश्चित गर्न चाहन्छन् । सत्ता गठबन्धनमै रहेको जनमतले पनि मधेस सरकारको नेतृत्वमा दाबी गर्दै आएपनि औपचारिक सहमति भने भइसकेको छैन ।

गठबन्धनभित्र मधेश प्रदेशमा जसपा र जनमतलाई आलोपालो मुख्यमन्त्री दिने विषयमा समेत छलफल भइरहेको छ। मधेश प्रदेशको ठूलो दल एमाले हो । यद्यपी एमालेले मधेशबाहेक अन्य चार प्रदेशमा मुख्यमन्त्री लिने विषयमा प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समझदारी भइसकेको छ ।

जसपा संसदीय दलका नेता रामसहाय यादवले आगामी केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागीता, आगामी रणनीतिबारे ठोस निर्णय लिने बताए । यादवले अन्नपूर्णसँग भने, ‘अहिलेसम्म हामी कुनै निर्णयमा पुगेका छैनौं । पुस १६ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेका छौं । पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बस्नेछ । ’

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सर्तसहित सरकारमा जाने निर्णय गरेको छ । राप्रपाले सरकारको नीतिगत निर्णयहरू अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने, स्वास्थ्य बिमा, कृषि कारखाना सञ्चालन गर्नुपर्नेलगायत शर्तसहित सरकारमा सहभागी हुने निर्णय गरेको हो।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले वर्तमान सरकारलाई थप बलियो बनाउने गरी जसपासहित घटक दलहरुसँगको छलफललाई तीव्र पारेका छन् ।  जसपाबाट प्रदीप यादव, नवलकिशोर शाह, विरेन्द्रप्रसाद महतो, राजकिशोर यादव, रामसहायप्रसाद यादव, दीपक कार्की, असोक राई निर्वाचित संघीय सांसद हुन् । यस्तै, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान समानुपातिक सांसद हुन् ।

सत्ताघटक दलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र  जनमत पार्टी रहेका छन्।

Share your love