उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडा माथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उहाँले सफल आरोही बुढामगरलाई बधाई तथा शुभकामना दिनु भएको हो ।

“तेह्र वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति र जीवनमा केही गर्ने हुटहुटीले तपाईँलाई कीर्तिमानी बनाएको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो ।

खुट्टा नहुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी बुढामगरले विश्व कीर्तिमान कायम गर्नुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट सम्पूर्ण नेपाली गौरवान्वित भएको बताउनुभयो । “तपाईँका लगन, धैर्य र आत्मबल तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने यस कीर्तिमानी कार्यको उच्च प्रशंसा गर्न चाहन्छु । यो सफलता अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत बन्न सकोस् ।”

उपराष्ट्रपति यादवले सगरमाथाको चुचुरोमा पुग्नु आफैँमा एउटा साहसिक कार्य भएको बताउनुभयो । “तपाईँको यो ऐतिहासिक कार्यले अपाङ्गता भएका र विभिन्न कारणले अङ्गभङ्ग भएकालाई सधैँ उत्प्रेरित गरिरहने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो ।

बुढामगरले कायम गर्नु भएको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति पनि अन्यसरह विश्व कीर्तिमान कायम गर्न सक्छन् भन्ने सकारात्मक सन्देश सञ्चार गरेको उहाँले बताउनुभयो । “तपाईँको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति अरूको भर र दयामा मात्र बाँच्न सक्छन् भन्ने नकारात्मक सोचलाई परिवर्तन गर्न सहयोग पुग्ने विश्वास पनि मैले लिएको छु । गौरवशाली उपलब्धिपछि मुलुकभर खुशी साटासाट भई रहेकै बेला तपाईँलाई हार्दिक बधाईसहित सम्मान गर्दा म गौरवको अनुभव गरिरहेको छु ।”

उपराष्ट्रपति यादवले पर्वतारोही बुढामगरको अद्भूत आत्मविश्वास, साहस र सम्पूर्ण मानव जातिमा प्रेरणा जगाउने यो यात्रा निर्विरोध जारी रहोस् भन्दै प्रशंसा गर्नुभयो । उहाँले पर्वतारोही बुढामगरको उज्जवल भविष्यको कामना गर्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ ।

रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । रासस