उपनिर्वाचनको विषयमा छलफल गर्न जसपाले बोलायो बैठक

वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने भएको हो । बैठकमा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार बैठकमा वैशाख १० गते प्रतिनिधिसभा अन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा पार्टीले दिने उम्मेदवारीलगायतका विषयमा छलफल हुनेछ ।

उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । बारा–२ मा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय छ । त्यसको आधिकारिक निर्णय हुन बाँकी छ ।

क्षेत्र, जिल्ला, प्रदेश हुँदै उम्मेदवारको विषयमा निर्णय भएर आउनुपर्ने हुन्छ । ‘बारा–२ बाट पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने लगभग निश्चित छ, तर औपचारिक निर्णय हुन बाँकी छ,’ जसपाका बारा जिल्ला समितिका अध्यक्ष रामबाबु यादवले भने, ‘उपेन्द्र यादवजीको विषयमा हामीले चाँडै निर्णय गर्दैछौं, भोलि जिल्लामा बैठक बोलाएका छौं । सो बैठकले उम्मेदवारको बारेमा छलफल गर्नेछ ।’

बारा–२ बाट उपेन्द्र यादव चुनाव लड्ने भएपछि पार्टीका अन्य नेताले हालसम्म उम्मेदवारीका लागि दाबी नगरेको जिल्ला अध्यक्ष यादवको भनाइ छ । उनले भने, ‘बैठकमा कुनै नेताले उम्मेदवारीका लागि प्रस्ताव राखेमा त्यो छुट्टै कुरा हो तर हालसम्म कसैले त्यसमा चर्चा समेत गरेका छैनन् ।’

त्यसका साथै बुधबार बस्ने कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । अब कसलाई मन्त्री बनाउने र कति जना पठाउने लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

पार्टीमा मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । त्यसलाई कसरी टुङ्गो लगाउने भन्ने चुनौती पार्टीमा देखिएको छ । मन्त्रालय भागबण्डामा जसपाले दुईवटा मन्त्रालय पाउने सम्भावना देखिएको छ । चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय पार्टीले गरिसकेको छ । विधान संशोधनको मस्यौदा पनि तयार भइसकेको छ । त्यसमा सुझाव लिने काम पनि पार्टीमा भइरहेको छ । तर उपनिर्वाचनका कारण विधान अधिवेशन सार्ने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

Share your love