उपचुनाव : रवि लामिछानेविरुद्ध ४ वटा उजुरी, बारा र तनहुँमा भने कुनै उजुरी परेन

आउँदो वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गराएकाविरुद्ध परेको उजुरीमाथि आज बुधवार जाँचबुझ हुँदैछ ।

चितवन क्षेत्र नम्बर २ मा उम्मेददवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन् । लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी परेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाली नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन् । उपचुनावका लागि यो क्षेत्रमा १२ राजनीतिक दलकासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै तनहुँ १ र बारा २ मा भने कुनै उजुरी नपरेको निर्वाचन अधिकृतले बताएका छन् । बारा २ मा राजनीतिक दलबाट १२ र २४ स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दिएका छन् । तनहुँ १ मा राजनीतिक दलका नाै जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारमाथि परेको उजुरीमा बेलुकी ५ बजेसम्म जाँचबुझ गरी निर्णय गर्ने र बेलुकी ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

यस्तै उम्मेदवारी फिर्ता लिन इच्छुक व्यक्तिले भोलि बिहीवार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म फिर्ता लिन सक्नेछन् । त्यसपछि दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । आउँदो वैशाख १० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

गएको मङ्सिर ४ गते भएको चुनावमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपचुनाव हुन लागेको हो । उपचुनावका लागि राजनीतिक दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

Share your love