इजाजत प्राप्त हतियार कार्तिक ५ गतेभित्र बुझाउन प्रशासनको आग्रह

 जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै इजाजत प्राप्त हतियार कार्तिक ५ गतेभित्र बुझाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासनद्वारा जारी सूचनामा आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र, विश्वसनीय एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुपर्ने भएकाले जिल्लाभित्र रहेका इजाजत प्राप्त हतियार कार्तिक ५ गतेभित्र बुझाउन आग्रह गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

बुझाइएको हतियारहरू निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात् सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिँदै निर्धारित समयभित्र हतियार नबुझाई अटेर गरेमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिइएको छ ।

जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले इजाजत प्राप्त हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेबमोजिम आजै स्थानीय प्रशासनले सूचना जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

Share your love