आज उपराष्ट्रपति उम्मेदवारको लैङ्गिक विवादबारे जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन हुने

उपराष्ट्रपति उम्मेदवारको लैङ्गिक विवादबारे आज जाँचबुझ हुँदैछ ।

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि लैङ्गिक विवादको निरुपण गर्ने जिम्मेवारी राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा आएको छ ।

उपराष्ट्रपतिमा चार जनाको मनोनयन पत्र दर्ता भएको छ । यादव पुरुष उम्मेदवार हुनुहुन्छ । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवले हिजो उम्मेदवारी दर्ता गर्नुभएको थियो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ । जसपाबाट यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ भने एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार बन्नुभएको छ ।

उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टी र एमालेले उजुरी दिएको छ । खसआर्य पुरुष राष्ट्रपतिमा निर्वाचित भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने उजुरीमा उल्लेख छ । सहायक निर्वाचन अधिकृत अमृता शर्माले यादवको मनोनयन खारेज गर्न माग गर्दै उजुरी आएको बताउनुभयो ।

उपराष्ट्रपतिको चुनावी कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । उपराष्ट्रपति पदका लागि आउँदो चैत ३ गते मतदान हुँदैछ ।

 

Share your love