आजदेखि लामो तथा मध्यम दूरीका गाडीको यान्त्रिक परीक्षण गरिने

काठमाण्डौ – काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका गाडीको आजैदेखि यान्त्रिक परीक्षण थालिने भएको छ ।

दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले आजदेखि मध्यम तथा लामो दूरीमा चल्ने गाडीको यान्त्रिक परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले यान्त्रिक परीक्षण विना गाडी चलाउन नपाइने बताउनुभयो । यसैगरी यात्रुको बीमा गरिएको हुनुपर्ने, लामो दूरीका गाडीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, गाडीमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्डको पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइनेलगायतका पुरानै व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ ।

बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ । त्यसका लागि यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश कार्यालयले आवश्यक व्यवस्था मिलाउनेछ।

यसैगरी जाँड रक्सी र लागुपदार्थ प्रयोग गरेर गाडी चलाउँदा पनि दुर्घटना बढेको भन्दै यसलाई नियन्त्रण गर्न आकस्मिक जाँच समेत हुनेछ । बढ्दो दुर्घटना न्यूनीकरण गर्न मन्त्रालयले यी नियम बनाएको हो।

 

Share your love