अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले माग्यो माफी

अमेरिकाको आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले माफी मागेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको आकाशमा बेलुन पुगेकोप्रति माफी माग्दै त्याे मानवरहित बेलुन मौसमको अनुसन्धानका लागि प्रयोग गरिने गरेको र निर्धारित बाटो बिराएर त्यहाँ पुगेको बताएको बीबीसीले जनाएको छ ।

पूर्वी अमेरिकातर्फ अघि बढिरहेको विशाल बेलुनका कारण उत्पन्न परिस्थितिलाई ठन्डा दिमागले सम्बोधन गर्न पनि चिनियाँ विदेश मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा चीनले कहिल्यै पनि कुनै सार्वभौम देशको भौगोलिक तथा हवाई क्षेत्रमा हस्तक्षेप नगरेको उल्लेख छ ।

चीनले अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको बारेमा माफी मागेको भए पनि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले आफ्नो निर्धारित चीनको भ्रमण स्थगित गर्नुभएको छ । चीनमा पाँच वर्षपछि अमेरिकी विदेशमन्त्रीको भ्रमण हुन लागेको थियो । ताइवानलाई लिएर भएको तनाव र रुस–युक्रेन युद्धमा चीनले विरोध नगर्नु सँगै अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पकालीन व्यापार युद्ध र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा अघि बढेको आक्रामक चीनका कारण दुई देशको सम्बन्ध जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

तनावका बीच हुन लागेको अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएकोमा त्यही बेला अमेरिकी आकाशमा पुगेको चिनियाँ बेलुनका कारण भ्रमण नै रोकिएको हो ।

Share your love