अफगानिस्तानमा जन्मिएका दुरानी, जसले भारतीय क्रिकेटमा योगदान दिए

भारतका पूर्व क्रिकेटर सलीम दुरानीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ। भारतीय टिमका अलराउन्डर रहेका दुरानीले भारतका लागि २९ टेस्ट खेल्दै १ हजार २०२ रन बनाएका थिए। साथै उनले ७५ विकेटसमेत लिएका थिए। फस्टक्लास क्रिकेटमा दुरानीले १७० खेल खेल्दै ८ हजार ५४५ रन र ४८४ विकेट लिएका थिए।

दुरानी १९३४ को डिसेम्बर ११ मा अफगानिस्तानको राजधानी काबुलमा जन्मिएका थिए। पछि उनको परिवार कराँची बसाइ सरेको थियो। भारत–पाकिस्तान विभाजनको समयमा दुरानीको परिवार भारत आएर बसेको थियो।

दुरानी विश्व क्रिकेटमा आफ्नो समयका सानदार अलराउन्डरका रुपमा परिचित रहेका थिए। १९६१–६२ मा इंग्ल्यान्डविरुद्धको सिरिजमा उनले अह्म भूमिका निभाएका थिए। उनले अन्तिम दुई टेस्टमा ओपनिङ गर्दै भारतलाई जित दिलाएका थिए। उनले कोलकातामा ८ तथा चेन्नईमा १० विकेट लिएका थिए। भारतले उक्त चर्चित ५ खेलको टेस्ट सिरिज २–० ले जितेको थियो। जुन इंग्ल्यान्डविरुद्ध भारतले जितेको पहिलो टेस्ट सिरिजका रुपमा रह्यो।

उनलाई भारत सरकारले प्रतिष्ठित अर्जुन अवार्डबाट सम्मान गरेको थियो। १९६१ मा उनले यो अवार्ड जितेका थिए। यो अवार्ड प्राप्त गर्ने पहिलो क्रिकेटरसमेत बनेका थिए।

दुरानीलाई समर्थकले अत्यन्तै माया गर्ने गर्थे। १९७३ मा इंग्ल्यान्डविरुद्धको कानपुर टेस्टमा दुरानीलाई टीमबाट ड्रप गर्दा दर्शकहरुले उनलाई टिममा राख्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। समर्थकको कडा विरोधपछि उनलाई मुम्बई टेस्टमा भने टिममा पुनरागमन गराइएको थियो।

सलीम दुरानीले भारतका लागि अन्तिम टेस्ट १९७३ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए। मुम्बईमा भएको उक्त टेस्टपछि उनले सन्न्यास घोषणा गरेका थिए। सन्न्यासपछि उनले फिल्म इन्डस्ट्रीमा पनि पाइला चालेका थिए। दुरानीले बलिवुड फिल्म ‘चरित्र’ मा काम गरेका थिए।

Share your love